असोज २८, काठमाडौं ।।
सर्वोच्च अदालतमा आजदेखि नियमित मुद्दा दर्ता र सुनुवाइ प्रक्रिया पुनः सुरु भएको छ।
आगजनीका कारण करिब तीन सातादेखि स्थगित न्यायिक सेवा पुनः सञ्चालनमा आएसँगै देवानी, फौजदारी र संवैधानिक मुद्दा दर्ता गर्न सुरु भएको हो।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नयाँ मुद्दा दर्ता प्रक्रिया सुरू भएसँगै प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध पनि रिट निवेदन दर्ता भएको छ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा आगजनी भएपछि अदालतले नयाँ मुद्दा लिन रोकेको थियो।
तर, क्षतिग्रस्त संरचना मर्मत र प्रशासनिक व्यवस्था मिलाएपछि अदालतले मंगलबार(आज)देखि पूर्ण रूपमा सेवा पुनः सञ्चालनमा ल्याएको हो।
उक्त आन्दोलन पश्चात् तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढले सँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
प्रधानमन्त्री कार्कीकै सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि सो निर्णयविरुद्ध अदालतमा रिट परेको हो।











