असोज २९, काठमाडौं ।।
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा
नेपालले आयोजक ओमानविरुद्ध खेल्दैछ ।
नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा शुरु हुँदैछ। नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुनेछ ।
सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो ।
त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको थियो । हाल अंक तालिका अनुसार ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ ।
ओमानले ३ खेलमा ६ अंक जोडेको छ भने १.०२४ रनरेट छ । यता, नेपाल दोस्रो स्थानमा छ । नेपालले पनि ३ खेलमा ६ अंक जोडेको छ भने रनरेट०.३५७ छ ।
यस्तै सुपर सिक्समा युएईको ३ खेलमा २ अंक छ भने जापानको २ खेलमा २ अंक रहेको छ । त्यसैगरी सामाओ र कतार अंक विहिन रहेका छन् ।
नेपाल र ओमानबीच अहिलेसम्म ८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भइसकेको छ । जसमा नेपालले ५ खेल जितेको छ भने ओमानले ३ खेल मात्र जितेको छ ।
दुवै देशबीच पछिल्लो पटक २०२४ को अक्टोबरमा खेल भएको थियो, जुन खेलमा नेपालले ५६ रनले जितेको थियो ।
आजको खेल जित्ने देश विश्वकपका लागि छनौट हुनेछ । सुपर सिक्सका खेलपछि शिर्ष तीन स्थानमा रहने देश २०२६ मा भारतमा आयोजना हुने टी-२० विश्वकपमा छनौट हुनेछन् ।













