कार्तिक ११, काठमाडौं ।।
बङ्गलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गरेको छ।
मंगलबार(आज) शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा सम्पन्न पाँचौँ स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–१ को सेट अन्तरले पराजित गर्दै पाँचौँ स्थानमा आउन सफल भएको हो।
माल्दिभ्ससँग खेलमा नेपालले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२० ले जित्दै प्रारम्भिक अग्रता लिएको थियो। तर, तेस्रो सेटमा माल्दिभ्सले कडा चुनौती दिँदै ३७–३५ ले सेट आफ्नो पक्षमा पारेको थियो।
चौथौं सेटमा भने नेपालले पुनः लय समात्दै २५–१९ ले जित निकाल्दै खेल आफ्नो पक्षमा गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा तुर्कमेनिस्तान र बङ्गलादेशसँग पराजय भोगेको थियो भने माल्दिभ्समाथि जित दर्ता गरेको थियो।
हिजो भएको खेलमा भने नेपाल श्रीलङ्कासँग पराजित भएको थियो। ६ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स अन्तिम स्थानमा छ।
यस्तै आजै उपाधिका लागि तुर्कमेनिस्तान र अफगानिस्तान आमनेसामने हुँदैछन् भने तेस्रो स्थानका लागि बङ्गलादेश र श्रीलङ्का प्रतिस्पर्धा गर्नेछ।













