कार्तिक २३, एजेन्सी ।।
चीनले आइतबार(आज)देखि अमेरिकातर्फ दुर्लभ खनिजको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस प्रतिबन्धलाई आजैदेखि फुकुवा गरिएको र आगामी नोभेम्बर २०२६ सम्म लागू रहने जनाएको छ।
चीनले सन् २०२४ देखि ग्यालियम, जर्मेनियम र एन्टिमोनीजस्ता खनिजमा लगाएको प्रतिबन्ध हटाएको हो । तर अमेरिकी सेनासँग सम्बन्धित वा सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने वस्तुहरूको निर्यातमा भने चीनले यथावत् प्रतिबन्ध जारी राख्ने स्पष्ट गरेको छ।
यो निर्णय हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको व्यापार वार्तापछि आएको हो।
उक्त सम्झौता अनुसार चीनले एक वर्षका लागि अमेरिकातर्फ दुर्लभ खनिज निर्यात सहज बनाउने र अमेरिकी कृषि उत्पादन तथा आधुनिक चिप्स आयात गर्ने सहमति भएको बताइएको छ।
त्यसैगरी, अमेरिकाले पनि चीनमाथि लगाएको भन्सार दरमा १० प्रतिशतले कमी गर्ने घोषणा गरेको छ। यससँगै चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रका केही अनुसन्धान गतिविधि अस्थायी रूपमा निलम्बन गर्ने निर्णय समेत अमेरिकाले गरेको छ।













