“गार्ड अफ अनर”सहित बिदा भए शरद भेषावकर, नेपाली क्रिकेटले गुमायो सफल अलराउन्डरमध्येका एक खेलाडी
  • प्रमुख खबर

कार्तिक २४, काठमाडौं ।।
नेपाली क्रिकेटका सफल अलराउन्डरमध्येका एक, शरद भेषावकरले आफ्नो गौरवशाली क्रिकेट जीवनबाट अन्ततः सन्यास लिएका छन्।

हङकङ सिक्सेस क्रिकेटमा नेपालको लागि अन्तिम खेल खेल्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भावनात्मक सन्देश दिँदै साइनिङ अफ लेखेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

सन् २००२ मा १५ वर्षमुनिको टोलीबाट क्रिकेट यात्रा सुरू गरेका शरदले २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए।

यस दुई दशकभन्दा लामो समय नेपाली क्रिकेटको साक्षी बनेर उनले मैदानमा अनगिन्ती सम्झनाहरू कोरेका छन्।

उनको योगदान केवल रन र विकेटमा सीमित छैन । उनी नेपाली क्रिकेटको स्थायित्व, अनुशासन र आत्मविश्वासको प्रतीक बने।

कठिन परिस्थितिमा स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणले उनलाई देशका हजारौं युवा खेलाडीका लागि प्रेरणाको स्रोत बनाएको छ।

हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि उनको सम्मानमा टोलीका खेलाडीले ‘गार्ड अफ अनर’ प्रदान गरे । यो क्षण नेपाली क्रिकेटको एउटा युगको भावुक बिदाइ जस्तै थियो।

अब शरदको ब्याट र बल मैदानमा नदेखिए पनि, उनको योगदान र स्मृति नेपाली क्रिकेटको इतिहासमा सदैव अंकित रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्