कार्तिक २६, काठमाडौं ।।
लामो समयदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग अब ४ महिनाभित्र हुने सम्भावना देखिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी १ सय २० दिनभित्र लिग सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ।
हिजो युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फा, क्लब प्रतिनिधि र खेलाडीबीच भएको विस्तृत छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
बैठकमा मन्त्री गुप्ताले एन्फालाई देशको फुटबलको अभिभावक संस्था भएको उल्लेख गर्दै लिगको मिति छिट्टै टुंग्याउन निर्देशन दिएका थिए । उनले भने, “अब ढिलाइ गर्ने ठाउँ छैन, एन्फाले नेतृत्व लिएर मिति घोषणा गर्नुपर्छ।”
गएको बिहीबार मात्र खेलाडीहरू लिग तत्काल गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए। ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय फुटबल गतिविधि ठप्प भएको उनीहरूको गुनासो छ।
नेपालमा अन्तिम पटक लिग सम्पन्न भएको आज ८ सय ८७ दिन बितिसकेको छ। यसबीचमा एन्फा र क्लबबीच राष्ट्रिय लिग गर्ने सहमति भए पनि ‘ए’ डिभिजन लिग नहुने देखिएपछि खेलाडीहरू आन्दोलित बनेका हुन् ।













