कार्तिक २८, काठमाडौं ।।
मतदाता नामावली संकलनका लागि देशभर बढेको उत्साह र अनलाइनमा देखिएको अत्याधिक चापलाई मध्येनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले म्याद थप्न गर्न आयोगलाई आग्रह गरेकी छन् ।
उनले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै म्याद थप्न अनुरोध गरेकी हुन्।
प्रधानमन्त्रीको आग्रहप्रति आयोग सकारात्मक रहेको स्रोतले जनाएको छ। भण्डारीले प्रधानमन्त्रीलाई ५ दिनसम्म म्याद थप्न सकिने गरी तयारी भइरहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आयोगले आगामी बैठकबाट निर्णय सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ। यसअघि आयोगले नयाँ मतदाता दर्ताका लागि कात्तिक ३० गतेसम्म मात्र समय दिएको थियो।
सम्भावित भीड व्यवस्थापन, केही प्राविधिक समस्या समाधान र सबै नागरिकलाई सहज पहुँच उपलब्ध गराउन म्याद थप्ने प्रक्रियालाई आयोगले प्राथमिकताका साथ अघि बढाइरहेको बताइएको छ।








