मतदाता दर्तामा भीड बढेपछि निर्वाचन आयोगले थप्यो पाँच दिनको समय
  • प्रमुख खबर

कार्तिक २९, काठमाडौं ।।
देशभर मतदाता नामावली दर्तामा उत्साहजनक भीड बढ्दै गएपछि निर्वाचन आयोगले दर्ता अवधि थप गर्ने निर्णय गरेको छ।

आयोगले हिजो साँझ विज्ञप्ति जारी गर्दै मंसिर ५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक प्रक्रिया खुला राखिने जनाएको छ।

यसअघि आयोगले कात्तिक ३० गते सम्मको समय तोकेको थियो। तर, दर्ताका लागि देखिएको अत्याधिक चाप र नागरिकको सहजताका लागि अवधि बढाइएको आयोगको भनाइ छ।

प्रधानमन्त्री सुशीला कार्कीले यस विषयलाई लिएर हिजो आयोगका प्रमुखसँग टेलिफोन सम्पर्क गर्दै समय थप्न आग्रह गरेकी थिइन्।

आयोगका अनुसार हालसम्म देशभर २ लाख ५७ हजार ५ सयभन्दा धेरै नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्।

विषेशगरी दर्ताका लागि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा पुरानै प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था पूर्ववतै रहने आयोगले जनाएको छ।

आज शनिबारका लागि समेत आयोगले राष्ट्रिय परिचय-पत्र नम्बर भएकाले अनलाइन आवेदन भर्न सक्ने व्यवस्था गरेको छ।

यस्तै परिचय-पत्र नम्बर नभएकाले आज आवेदन दिन नपाउने तर पहिले नै अनलाइन आवेदन गरिसकेकाहरूका हकमा भने सबै प्रदेश तथा जिल्लास्तरीय निर्वाचन कार्यालयमा जैविक विवरण सङ्कलन सेवा नियमित रूपमा सञ्चालन रहने विज्ञप्तिमार्फत जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्