कार्तिक ३०, काठमाडौं ।।
भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकामाथि जित हासिल गरेको छ । यस जितसँगै नेपालले जारी प्रतियोगितामा आफ्नो तेस्रो सफलता दर्ता गरेको छ।
बेङ्गलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकी टोली ९ ओभर ४ बलमै १७ रनमा समेटियो। कुनै पनि अमेरिकी खेलाडी दोहोरो अंकमा प्रवेश गर्न नसकेका कारण टोली दबाबमा परेको देखियो।
अमेरिकाले १३ रन अतिरिक्तका रूपमा पाएको थियो। नेपालकी दिल्लीसरा धमला बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारिन्। केवल १८ रनको सानो लक्ष्य पछ्याउँदै नेपालले अविश्वसनीय द्रुत ब्याटिङ गर्यो।
टोलीले ४ बलमै बिना विकेट लक्ष्य भेट्दै १० विकेटको दह्रो जित आफ्नो नाममा गरायो। नेपालका लागि दिल्लीसरा धमलाले नै १२ रन जोडिन्, जबकि ६ रन अतिरिक्तका रूपमा प्राप्त भयो।
यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले पराजित गरिसकेको छ। भारतसँग भने ८५ रनले हार बेहोरेको थियो।
अमेरिकामाथिको जितसँगै नेपाल समूह चरणमा बलियो प्रतिस्पर्धीको रूपमा उदाएको छ।













