मंसिर २, काठमाडौं ।।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार(आज) भएको खेलमा चितवन राइनोजले जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।
कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्यो। चितवनका लागि रवि बोपाराले आकर्षक ५२ रन प्रहार गरे भने दीपक बोहराले ४२ र सेफ जेबले ३८ रन जोडे।
कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिन सफल भएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रन जोडेको थियो।
टिमका ओपनर प्रियांक पंचाल उत्कृष्ट फर्ममा रहेर ९० रन बनाए भने पवन सर्राफ २७ रनमा अविजित रहे। त्यस्तै अहिले केहीबेरमा हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्।
यस्तै हिजो भएको उद्घाटन खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
यस एनपीएल–२ मा जनकपुर, काठमाडौँ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली प्रतिस्पर्धामा छन्। लिगको फाइनल खेल मंसिर २७ गते तय गरिएको छ।










