रजत वर्षमा प्रवेशसँगै आहा! रारा गोल्डकप २५औँ संस्करण भव्य तयारीसहित घोषणा
  • सरिता गुरुङ

मंसिर ९, पोखरा ।।
नेपालको फुटबल इतिहासमा निरन्तर रूपमा सञ्चालित एकमात्र प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता हो आहा!रारा गोल्डकप ।

सहारा क्लब पोखराले पहिलोपटक २०५९ देखि सञ्चालन गर्दै आएको यस प्रतियोगिता अहिले २५ औं संस्करणसम्म आइपुगेको छ ।

यो संस्करणसम्म आइपुग्दा यस प्रतियोगिताको मिति समेत तय भएको छ। प्रतियोगिता आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशाला स्थित फुटबल खेल मैदानमा हुँदैछ ।

सहारा क्लब पोखराले आफ्नो रजत वर्षको औपचारिक प्रवेशसँगै यस वर्षको गोल्डकपलाई अझ भव्य र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको सोमबार(आज) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

यस्तै रजत वर्षको उपलक्ष्यमा सार्वजनिक गरिएको लोगोमा गोल्डकपमा अंकित माछा, फुटबल, पोखराको पहिचान माछापुच्छ्रे हिमाल तथा सात रङ्गको सु-सम्बन्धित मिश्रण समावेश गरिएको छ। लोगोमा ‘आहा रारा पोखरा गोल्डकप २०२६’ उल्लेख गरिएको छ।

हिम श्री फुड्सको मुख्य प्रायोजना र पोखरा महानगरपालिकाको संरक्षणमा आयोजना हुने यस प्रतियोगिताको लागि नेपाल फुटबल संघ (एन्फा) ले दिएको तालिकाको आधारमा खेल सञ्चालन हुने क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन, विभागिय क्लबहरु, आयोजक र अन्तर्राष्ट्रिय क्लब गरी १२ टिमको सहभागिता हुँदै आएको छ ।

गत वर्षको संस्करणमा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सो संस्करणबाट क्लबले २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गर्न सफल रहेको थियो ।

यस प्रतियोगितालाई लिएर पोखरा महानगरसँग भगिनी सम्बन्ध भएका विभिन्न देशका शहरहरका फुटबल टिम समेत बोलाउने सम्भावनाबारे पनि महानगरसंग छलफल भइरहेको अध्यक्ष थापाले बताए।

उनले भने,“आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित बालकहरूका लागि निरन्तर चल्दै आएको अभियान हो र यस वर्ष पनि सबैको साथ–सहयोगको अपेक्षा राखेका छौँ, यो पोखरेलीको ब्राण्ड हो यसको व्यवस्थापन पक्ष मात्र हामीले गरेका हौ ।”

सहारा क्लबले हरेक वर्ष गोल्डकपबाट उठेको रकमलाई विपन्न बालबालिकाको संरक्षण र फुटबल प्रशिक्षणमा खर्च गर्दै आएको छ। यो गोल्डकप सहारा एकेडेमीका बालबालिकाहरूको सहारा भएको अध्यक्ष उनले बताए ।

मुख्य प्रायोजक संस्था हिम श्री फुड्सका निर्देशक प्रकाश के.सी.ले आहा रारा पोखरा गोल्डकपसँग आफ्नो स्वर्गिय बुवाको आत्मिय सम्वन्ध रहेको कारणले पनि प्रतियोगिता सफल बनाउन सहयोगको निरन्तरता रहने प्रतिवद्धता जनाए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखराको नाम बेचेर फुटबल मैदानमा गरिने गतिविधि भन्दा पोखराको गरिमा माथी उठाउने आहा! रारा गोल्डकप पोखराको सान र मान दुवै भएको बताए ।

पोखरालाई खेलकुदको क्षेत्रमा चिनाउने यस्तो महत्वपूर्ण प्रतियोगितालाई सफल बनाउन सबै पोखरेलीहरुको सहयोगको खाँचो रहेको औंल्याए ।

उनले भने,“पहेलोँ देख्ने वित्तिकै सुन हुँदैन । व्यवसायिक रुपमा पोखराको नाम बेचेर स्वार्थ पुरा गर्नेहरु पनि छन् । तर आहा! रारा गोल्डकपले पोखराको गौरव माथी उठाएको छ । हामीलाई यस्ता कार्यक्रम सफल बनाउन सहकार्यको खाँचो छ ।”

विषेशगरी नेपालमै आधुनिक फुटबल मैदानका रूपमा पोखरा रंगशाला चर्चित हुनुमा यस गोल्डकपको ठूलो भूमिका छ।

पोखरा केवल पर्यटनको राजधानी मात्र होइन, विश्वस्तरीय खेलकुद आयोजना गर्न सक्षम शहर पनि हो। यस गोल्डकपको मञ्चमा चम्किएका कैयौँ युवा फुटबलर राष्ट्रिय टोलीसम्म पुगेका उदाहरण धेरै छन्।

आहा! रारा पोखरा गोल्डकप पोखराको पर्यटन, खेलकुद, अन्तर्राष्ट्रिय पहिचान र सामाजिक भावना यी सबैलाई एउटै धागोमा जोड्ने सुनौलो सूत्र हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्