टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा, पहिलो खेल दुई पटकका विश्वकप विजेता इंग्ल्यान्डसंग
  • प्रमुख खबर

मंसिर १०, काठमाडौं ।।
नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक मोड आइपुगेको छ। आईसीसी टी–२० विश्वकप २०२६ को समूह विभाजन सार्वजनिक भएसँगै नेपाली क्रिकेटमा नयाँ उत्साह, आशा र चुनौती एकसाथ थपिएको छ।

मुम्बईमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह ‘सी’ मा परेको छ।

नेपालको लागि यो समूहमा त्यति सहज भने छैन। दुई–दुई पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज, एशियाली क्रिकेटको बलियो शक्ति बंगलादेश र युरोपेली टोली इटाली यस समूहमा रहेका छन् ।

नेपालले विश्वकपका सबै खेल भारतको मुम्बई शहरमा खेल्नेछ। नेपालले पहिलो खेल मुम्बईको वान्खडे स्टेडियममा फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दैछ ।

यो खेल नेपाल र इंग्ल्यान्डबीचको पहिलो अन्तर्राष्ट्रिय खेल हो, जसले खेललाई अझ विशेष बनाउने अनुमान क्यानले गरेको छ।

त्यस्तै अन्य बाँकी खेलहरु नेपालले इटालीसँग फेब्रुअरी १२, वेस्ट इन्डिजसँग फेब्रुअरी १५ र बंगलादेशसँग फेब्रुअरी १७ प्रतिस्पर्धा गर्दैछ ।

नेपालले यसअघि भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका जस्ता ठूला राष्ट्रसँग प्रतिस्पर्धा गरिसकेको अनुभव छ।

अब इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग खेल्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति झनै मजबुत बनाउने अवसर पाएको छ।

यस्तै आईसीसी टी–२० विश्वकप २०२६ को समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान छन् ।

यस प्रतियोगिताको समूह ‘डी’ मा भने दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई, क्यानडा समावेश छन् । यस आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुनेछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्