प्राज्ञिक विद्यार्थी परिषद नेपालले सुरु गर्यो ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने देशव्यापी अभियान
  • प्रमुख खबर

मंसिर १०, पोखरा ।।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सदाचार र सुशासन प्रवर्द्धन गर्ने राष्ट्रव्यापी अभियान २०८२ सुरु गरेको छ।

अभियानको औपचारिक शुभारम्भ बुधबार(आज) बाट भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। यो अभियान आजको मितिबाट दुई महिनासम्म सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै परिषदका राष्ट्रिय सचिव दिप्सन गुरुङले देशमा सकारात्मक रूपान्तरण ल्याउन नागरिकमा अनुशासन, नैतिकता, चरित्र, इमान्दारिता र राष्ट्रिय दायित्वबोध अपरिहार्य भएको बताए।

वर्तमान सामाजिक र राजनीतिक अवस्थालाई ध्यानमा राख्दै व्यक्ति निर्माणमार्फत मात्र राष्ट्र समृद्ध बन्ने अवधारणासहित सो अभियान अघि बढाइएको उनको भनाइ छ।

गुरुङले भने,“जब सम्म व्यक्ति निर्माण हुँदैन, तबसम्म समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन । तसर्थ “नागरिकलाई इमान्दार, नैतिकवान् र अनुशासित बनाउने दीर्घकालीन उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो।”

उनका अनुसार यस अभियान अन्तर्गत देशभरका युवा विद्यार्थीहरूबाट सुझाव सङ्कलन, राष्ट्रका लागि संकल्प अभियान, क्याम्पस र कलेजस्तरमा सकारात्मक संवाद शृङ्खला, युवा उत्प्रेरणा कार्यक्रम, साहित्य, पर्चा तथा पोस्टरमार्फत नागरिक कर्तव्यको प्रचार–प्रसार, साथै नागरिक गोष्ठीहरू सञ्चालन गरिनेछ।

यी कार्यक्रमहरु मार्फत युवामा राष्ट्रप्रतिको जिम्मेवारीबोध, समर्पण र सकारात्मक सोच विकास गर्ने लक्ष्य लिइएको परिषदले जनाएको छ।

यस्तै परिषदका गण्डकी प्रदेश सचिव सन्तोष शर्मा पौडेलले प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नागरिकको जिम्मेवारी महत्वपूर्ण हुने बताए।

उनले अभियानले नागरिकलाई आफ्नो कर्तव्य सम्झाउन र जिम्मेवार बनाउने दिशामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

परिषदले मुलुकमा बढ्दै गएको नैतिक विचलन, भ्रष्ट आचरण र जिम्मेवारीहीन प्रवृत्तिलाई न्यूनीकरण गर्दै नैतिक नेतृत्व र सचेत नागरिक उत्पादनमा अभियानले टेवा पुर्‍याउने विश्वास लिएको छ।

अभियान गण्डकी प्रदेशमा मात्र सञ्चालन नभई देशका सातै प्रदेशमा हुने परिषद्ले जनाएको छ। हाल यस परिषदमा देशभरबाट १० हजार भन्दा बढी सदस्यहरू छन् भने गण्डकी प्रदेशमा मात्र २ हजार ६ सय २७ सदस्यहरु छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्