मङ्सिर ११,काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलसमेतको इजलासमा परेको थियो।
आजको सुनुवाइ स्थगित गरिदिन माग गर्दै लामिछाने पक्षका कानुन व्यवसायीले निवेदन पेश गरेका कारण मुद्दा स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सो सहकारीमा भएको अपचलनमध्ये आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका थिए। तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। यसअघि उच्च अदालतले लामिछाने र जोशीको मुद्दा एउटै रूपमा हेर्न पनि आदेश दिएको थियो।









