एनपीएलमा आज दुई ठूला भिडन्त हुने अंकका लागि र प्रतिष्ठाका जोगाउनलाई
  • प्रमुख खबर

मंसिर १३, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शनिबार(आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा दुई वटा रोमाञ्चक खेल हुँदैछन्।

पहिलो खेल बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ। दोस्रो खेल साँढे ३ बजे यस प्रतियोगिताको बलिया टिम सुदूरपश्चिम रोयल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच हुनेछ।

विषेशगरी तीन खेलमध्ये एक खेल जित्दै २ अंक जोडेको पोखरा एभेन्जर्स हाल तालिकाको छैटौं स्थानमा छ भने चार खेलमा एउटामात्र जित निकालेको लुम्बिनी लायन्स पनि २ अंकसहित सातौं स्थानमा सीमित छ।

यस खेलले दुवै टोलीका लागि अंकतालिकामा सुधार गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

यस्तै अहिलेसम्म विजयको यात्रा तय गरिरहेको सुदूरपश्चिम चार खेलमा चारै जितसहित ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा मजबुत रूपमा उभिएको छ।

यता, तीन खेलमा लगातार हार बेहोरेको जनकपुर बोल्ट्स एक अंकसमेत जोड्न नसकी तालिकाको पुछारमा पुगेको छ।

आजको खेल जनकपुरका लागि सम्मान बचाउने अन्तिम अवसरको रूपमा रहनेछ। यस एनपीएल प्रतियोगिताको अंकतालिकाको अवस्था हेर्दा ८ अंकसहित विराटनगर दोस्रो, ६ अंकसहित काठमाडौँ तेस्रो, ४ अंकसहित चितवन चौथो, २ अंकसहित कर्णाली पाँचौं स्थानमा छन्।

त्यस्तै पोखरा छैटौं, लुम्बिनी सातौं र जनकपुर अन्तिम स्थानमा रहेका छन्। आठ फ्रेन्चाइज टोलीको सहभागितामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको रोमाञ्चकता दिनप्रतिदिन बढ्दै गएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्