एनपीएलमा आज दुई वटा अत्यन्तै निर्णायक खेलहरू हुँदै
  • प्रमुख खबर

मंसिर १६, काठमाडौं ।।
न्नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको रोमाञ्चक दोस्रो संस्करणमा मंगलबार(आज)दुई वटा अत्यन्तै निर्णायक खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने यी खेलहरूले प्लेअफ समीकरण नै उल्ट्याउने सम्भावना बोकेका छन्। बिहान पौने १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

चार खेलबाट दुई जित हात पारेको चितवन आजको खेल जित्दै प्लेअफको सम्भावना अझ मजबुत बनाउने दाउमा छ।

यस्तै २ जित र २ हारसहित ४ अंक जोडेको चितवन हाल तालिकाको चौथो स्थानमा छ। तर जनकपुरका लागि आजको खेल निकै जत्तिकै महत्त्वपूर्ण छ।

लगातार चार खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रहेको जनकपुर आज जित निकाल्न सके मात्रै प्लेअफको झिनो आशा जोगाउन सक्छ।

यस्तै दिउँसो ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच रोचक भिडन्त हुनेछ। दुवै टोली प्लेअफ दौडमा टिकिरहन आज जित्नैपर्ने दबाबमा छन्।

पोखरा ४ खेलमा १ जित र ३ हारसहित २ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ। यता कर्णाली याक्स पनि ५ खेलमा १ जित र ४ हारसहित २ अंकसहित छैटौँ स्थानमा सीमित छ।

आज हार बेहोरे दुवै टोलीको प्लेअफ यात्रा लगभग समाप्त हुने खतरा छ। यसैबीच प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै सुदूरपश्चिम रोयल्स १० अङ्कसहित प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

त्यस्तै काठमाडौं गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो, विराटनगर ५ खेलमा ८ अंकसहित तेस्रो र लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा छन्।

मंसिर १ देखि सुरु भएको आठ फ्रेन्चाइज टोली सहभागी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग २७ मंसिरसम्म चल्नेछ। विषेशगरी आजका यी दुई खेलसँगै एनपीएलको प्लेअफ यात्रा अझ रोमाञ्चक मोडमा प्रवेश गर्ने निश्चित छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्