मंसिर २५, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार(आज)लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच रोमाञ्चक भिडन्त हुने भएको छ।
खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ। आजको यस खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।
फाइनलमा यसअघि नै स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको थियो। त्यसैले आजको खेल विजेता सुदूरपश्चिमसँग शनिबार हुने उपाधि भिडन्तका लागि उत्रिनेछ।
इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको हो।
लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनीका लागि आजको खेल अर्को महत्वपूर्ण चुनौती हुनेछ।
लिग चरणमा पनि लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो, जसले टोलीलाई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाएको छ।
यता विराटनगर किंग्सले पहिलो क्वालिफायरमा ठूला अन्तरले हार बेहोरेपछि फाइनल पुग्न आज दोस्रो अवसर पाएको हो।
बलियो टोली मानिएको विराटनगरले आज जीतका लागि निकै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। लिग चरणमा विराटनगरले ७ मध्ये ५ खेलमा जित र २ खेलमा हार बेहोरेको छ।
यस्तै लुम्बिनी लायन्सले भने ७ खेलमध्ये ४ जीत र ३ हार बेहोरेको छ । दुवै टोलीका लागि आजको खेल ‘डु ओर डाइ’ को अवस्थाजस्तै हुनेछ।
त्यस्तै एनपीएलको फाइनल खेल शनिबार दिउँसो ३:३० बजे त्रिवि क्रिकेट रंगशालामै हुनेछ। लिगको स्तर र उत्साह निरन्तर बढिरहेको अवस्थामा आजको खेलले नै उपाधिको अन्तिम प्रतिस्पर्धी तय गर्नेछ।










