मंसिर २७, काठमाडौं ।।
लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार(आज) सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेटको क्षतिमा भेटायो। लुम्बिनीका लागि दिनेश अधिकारीले उत्कृष्ट ब्याटिङ गर्दै ४२ रनको अविजित पारी खेलेर टोलीको जित सुनिश्चित गरे। यता सुदूरपश्चिमतर्फ हेमन्त धामीले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा मात्र ८५ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ५१ बलमा ३३ रन बनाए पनि अन्य ब्याट्सम्यानले अपेक्षित योगदान दिन सकेनन्।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित शानदार बलिङ प्रदर्शन गरे भने शेर मल्ल र रुबेन ट्रम्पेलमानले समान ३–३ विकेट लिएर सुदूरपश्चिमको ब्याटिङलाई कमजोर बनाइदियो ।

पहिलो संस्करणमा अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले यसपटक उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेर एनपिएलमा नयाँ इतिहास रचेको छ।
निरन्तर सुधार र सन्तुलित टोलीका कारण नै लुम्बिनीले एनपीएलको दोस्रो संस्करण आफ्नो नाममा लेखाएको हो।
यसपटक पनि सुदूरपश्चिम रोयल्स उपविजेतामा सीमित भयो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक पनि उपाधि नजिक पुगेर चुकेको हो ।
यस्तै उपाधिसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेको विराटनगर किङ्ग्सले २५ लाख र चौथो बनेको काठमाडौं गोर्खाजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि शुरू भएको यस प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।
प्रतिस्पर्धात्मक खेल, नयाँ प्रतिभाको उदय र दर्शकको उत्साहले दोस्रो संस्करणको एनपीएल नेपाली क्रिकेटका लागि स्मरणीय बनेको छ।













