एसीसी यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार, सेमिफाइनल यात्रा संकटमा
  • प्रमुख खबर

मंसिर २९, काठमाडौं ।।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालको प्रदर्शन निराशाजनक बनेको छ। लगातार दोस्रो खेलमा पराजय बेहोरेसँगै नेपाल समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।

सोमबार(आज)संयुक्त अरब इमिरेट्सको दुबईस्थित सेभेन्स स्टेडियममा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भएको छ।

नेपालले प्रस्तुत गरेको कमजोर ब्याटिङ प्रदर्शन नै हारको मुख्य कारण बन्यो। टस हारेर पहिला ब्याटिङ गर्न बाध्य नेपालले ३१ ओभर १ बलमै सबै विकेट गुमाउँदै जम्मा १ सय ३० रन मात्र जोड्न सक्यो।

नेपाली ब्याटिङ लाइन लगातार दबाबमा देखियो र कुनै पनि खेलाडीले लामो इनिङ खेल्न सकेनन्।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए भने आशिष लुहारले २३ रनको योगदान दिए। शाहिल पटेल १८ र निरकुमारले १४ बाहेक अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेन ।

यता बङ्गलादेशका खेलाडीहरूको खेल भने निकै प्रभावशाली देखियो। बङ्गलादेशले २४ ओभर ५ बलमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

बङ्गलादेशका ब्याटर जावाद अबरारले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ७० रन बनाए र टोलीको जितलाई सहज बनाए। नेपालका तर्फबाट अभिषेक तिवारी र युवराज खत्रीले समान १–१ विकेट लिए पनि त्यसले खेलको नतिजा बदल्न सकेन।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपाल समूह ‘बी’ को अंक तालिकामा कमजोर अवस्थामा पुगेको छ।

अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेल पुस २ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल पुग्न नेपाललाई अब जित मात्र होइन, अन्य टोलीको नतिजा पनि अनुकूल हुन आवश्यक छ ।

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का समावेश छन्।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो पुस ६ गते आयोजना हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्