पौष १, काठमाडौं ।।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका अनुभवी प्रशिक्षक हर्षल पाठक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गर्दै भारतका अनुभवी प्रशिक्षक पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन्।
उनी यसअघि थाइल्यान्डको राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत थिए ।
क्यानले मंगलबार(आज) दिएको जानकारी अनुसार पाठकले आगामी महिनादेखि नेपालमै हुने ग्लोबल छनोट प्रतियोगितामा टोलीको नेतृत्व गर्नेछन्।
नेपाली महिला टोली हाल टी–२० ग्लोबल छनोटका लागि कडा प्रशिक्षणमा जुटिरहेको छ। घरेलु मैदानमा हुने यस छनोटलाई नेपालका लागि विश्वकपको ढोका खोल्ने सुनौलो अवसरका रूपमा हेरिएको छ।
समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा भने बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन्।
हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट उत्कृष्ट चार टोलीले इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा सहभागी जनाउन पाउने भएको छ।
विदेशी प्रशिक्षकको अनुभव, घरेलु मैदानको फाइदा र बढ्दो आत्मविश्वासका बीच नेपाली महिला टोलीले यसपटक इतिहास रच्ने आशा गरिएको छ।














