यू–१९ एशिया कपमा नेपालको लज्जास्पद ब्याटिङ, १२४ रनमै समेटियो टोली
  • प्रमुख खबर

पौष २, काठमाडौं ।।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ सय २५ रनको लक्ष्य दिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४६ ओभर ४ बलमै अलआउट हुँदै १ सय २४ रनमै सीमित हुन पुगेको हो।

आजको खेलमा पनि नेपालको ब्याटिङ लाइनअप अपेक्षा अनुसार चल्न सकेन। सुरुआतदेखि नै अफगानिस्तानी बलरहरूको कडाइपूर्ण आक्रमणका कारण नेपालले नियमित अन्तरालमा विकेट गुमायो।

यद्यपि मध्यक्रमका ब्याटर दिलसाद अलीले ३२ रन बनाउँदै सर्वाधिक योगदान दिए। त्यसैगरी चन्दन रामले २७ र अभिषेक तिवारीले २० रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर अन्य ब्याटरहरू लामो समय टिक्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन।

यता अफगानिस्तानका बलरहरू खेलभर प्रभावशाली देखिए। जैतुल्लाह शाहीनले ३ विकेट लिँदै नेपाली ब्याटिङलाई धराशायी बनाउँदा अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले समान २–२ विकेट हात पार्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए।

यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको मात्र बनेको थियो। नेपाल र अफगानिस्तान दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो।

लगातार दुई हारपछि नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको हो। आठ टोली सहभागी यस प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

युवा क्रिकेटरहरूको प्रतिस्पर्धाले भरिएको एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आउँदो सोमबार पुस ६ गते हुने तालिका रहेको छ।

यस प्रतियोगिताबाट बाहिरिए पनि नेपालका युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुल्ने अवसर पाएका छन्। आगामी दिनमा यही अनुभवले नेपाली युवा क्रिकेटलाई थप सबल बनाउने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्