मैदान प्रवेशमै चुक्यो अनुशासन, एएफसीको फाइनमा पर्‍यो एन्फा
  • प्रमुख खबर

Oplus_131072

पौष ४, काठमाडौं ।।
एशियाली फुटबल महासंघ (एएफसी)ले एशिया कप छनोट प्रतियोगितामा अनुशासन उल्लङ्घन भएको ठहर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ।

एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एशिया कप छनोट तेस्रो चरण अन्तर्गत मलेशियासँग भएको खेलमा नेपाली खेलाडीहरू निर्धारित समयभन्दा ढिला मैदानमा प्रवेश गरेको भन्दै एन्फामाथि कारबाही गरेको हो।

कमिटीको यही डिसेम्बर १५ तारिकमा बसेको बैठकबाट उक्त निर्णय सार्वजनिक गरेको हो।

एएफसीका अनुसार उक्त खेलमा नेपालले पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिला गरी मैदान प्रवेश गरेको थियो ।

यसलाई लिएर कमिटीले प्रतियोगिताको अनुशासन नियम विपरीत ठहरिएको जनाएको थियो ।

यस्तै सोही खेलमा मलेशियाका खेलाडीहरू पनि ढिला मैदानमा प्रवेश गरेको भन्दै एएफसीले मलेशिया फुटबल संघलाई समेत २ हजार ५ सय अमेरिकी डलर जरिवाना गरेको छ।

यसका अतिरिक्त खेलपछिको अनिवार्य पत्रकार सम्मेलनमा ‘प्लेअर अफ द म्याच’ घोषित मोहम्मद फैसल बिन अब्दुल हलिमलाई उपस्थित नगराएको भन्दै एएफसीले मलेशिया फुटबल संघ र स्वयं हलिमलाई थप कडा कारबाही गरेको छ।

एएफसीले मलेशिया फुटबल संघलाई १० हजार डलर र आग्रह हुँदाहुँदै पनि पत्रकार सम्मेलनमा सहभागी नभएका हलिमलाई पनि १० हजार डलर जरिवाना तोकेको छ।

उसले सबै जरिवानाको रकम निर्णय सार्वजनिक गरेको मितिले ३० दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने स्पष्ट पारेको छ।

स्मरण रहोस् गएको नोभेम्बर १८ मा मलेशियामा सम्पन्न उक्त खेलमा नेपाल घरेलु टोली मलेशियासँग १–० गोल अन्तरले पराजित भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्