राष्ट्रपति रनिङ शिल्ड र मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • प्रमुख खबर

पौष ७, पोखरा ।।
पोखरामा पौष ९ गतेदेखि सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा ५ औँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने यस प्रतियोगिताबारे सोमबार(आज) पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित र विवाद रहित बनाउन विगत दुई महिनादेखि व्यापक तयारी गरिएको बताए ।

अघिल्ला संस्करणमा देखिँदै आएको जन्म मिति सम्बन्धी विवाद अन्त्य गर्न यस वर्ष विद्यार्थीको “इमिस कोड नम्बर”का आधारमा सहभागिता सुनिश्चित गरिएको उनले स्पष्ट पारे ।

त्यस्तै पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले महानगरभित्र रहेका झण्डै २ सय ६० विद्यालयमध्ये १ सय ८० भन्दा बढी विद्यालय विभिन्न खेल विधामा सहभागी हुने बताए ।

करिब ७० प्रतिशत विद्यालयको सहभागिता सुनिश्चित भइसकेको उल्लेख गर्दै भौगोलिक कठिनाइका बाबजुद आगामी वर्ष सतप्रतिशत विद्यालय समेट्ने लक्ष्यसहित काम गरिने प्रतिवद्धता जनाए ।

पौष ९ गतेबाट सुरु भई ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा खेल विधा समावेश छन् ।

समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार भलिबल छात्रतर्फ ४५ विद्यालयका ४ सय ५० र छात्रातर्फ २३ विद्यालयका २ सय ३० खेलाडी, कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय र छात्रातर्फ ११ विद्यालयका १ सय १० खेलाडी, एथलेटिक्समा ८४ विद्यालयका छात्र ३ सय ७० र छात्रा २ सय ६५, कराँते: ४१ विद्यालयका ६४ छात्र र ७० छात्रा, तेक्वान्दोमा २६ विद्यालयका ४८ छात्र र ५० छात्रा, उसुमा २१ विद्यालयका ४० छात्र र ६५ छात्रा सहभागी हुनेछन् ।

यसैगरी मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगितामा एक खेलाडीले एक विधामा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार नियमको कडाइका साथ पालना गर्न आयोजकले आग्रह गरेको छ ।

यस्तै पुरस्कारतर्फ, भलिबल र कबड्डीतर्फ प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १२ हजार रुपैयाँ, एथलेटिक्स (एकल)तर्फ प्रथम ४ हजार, द्वितीय २ हजार ५ सय, तृतीय १ हजार ५ सय, रिले: प्रथम ६ हजार, द्वितीय ४ हजार, तृतीय २ हजार, रिले: प्रथम ६ हजार, द्वितीय ४ हजार, तृतीय २ हजार, मार्चपास: प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ५ हजार रुपैयाँसहित पदक र प्रमाण-पत्र प्रदान गरिनेछ । अन्य खेल विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्