पौष १०, काठमाडौं ।।
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच अन्ततः बहुप्रतीक्षित एकता हुने भएको छ।
लामो समयदेखि चर्चामा रहेको एकता प्रक्रियाले ठोस रूप लिँदै दुवै पार्टीबीच औपचारिक एकता सम्झौतामा हस्ताक्षर भएको हो।
एकता सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एकतापछि पार्टीको अध्यक्षको जिम्मेवारी लिङ्देनले सम्हाल्नेछन् भने थापालाई पूर्वअध्यक्षको हैसियत प्रदान गरिने सहमति भएको छ।
विगत लामो समयदेखि राजनीतिक रूपमा अलग–अलग यात्रामा रहेका यी दुई नेता पुनः एउटै मञ्चमा उभिनु राप्रपा राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
एकताको औपचारिक घोषणा आगामी पुस १६ गते विशेष कार्यक्रमका बीच गरिने जनाइएको छ। उक्त कार्यक्रममा देशभरका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
चार वर्षअघि सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका थिए।
त्यसपछि उनले राप्रपा नेपाल गठन गर्दै पृथक राजनीतिक धार अगाडि बढाएका थिए। तर पछिल्लो समय समान राजनीतिक एजेण्डा, विचार र लक्ष्यका आधारमा दुवै पक्ष एकतामा सहमत भएका हुन्।
एकतापछि पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ता व्यवस्थापन तथा भावी राजनीतिक रणनीतिमा संयुक्त रूपमा अघि बढ्ने दुवै नेताले प्रतिबद्धता जनाएका छन्।









