जनकम्युनमा प्रहरी छापा : विप्लव माओवादीद्वारा देशव्यापी आन्दोलनको घोषणा
  • प्रमुख खबर

पौष १२, काठमाडौं ।।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अर्घाखाँचीमा प्रहरीद्वारा गरिएको छापाको विरोधमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।

पार्टीले उक्त घटनालाई राजनीतिक दमनको रूपमा व्याख्या गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो।

शुक्रबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ स्थित पार्टीले सञ्चालन गर्दै आएको ‘जनकम्युन’ मा प्रहरीले छापा मारेपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न शनिबार (आज) बसेको नेकपा(माओवादी)को स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम तय गरेको हो ।

घोषित कार्यक्रम अनुसार यस पार्टीले आज देशभर बेलुकी मसाल जुलुस आयोजना गर्ने जनाएको छ ।

यस्तै पुस १३ गते भोलि देशभरका विभिन्न स्थानमा कोणसभा, पुस १४ गते विरोध प्रदर्शन र पुस १५ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने जनाइएको छ।

पार्टीले यी कार्यक्रमहरू शान्तिपूर्ण तर सशक्त रूपमा सम्पन्न गरिने बताएको छ। जनकम्युनमा गरिएको छापालाई लिएर पार्टीले लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भन्दै नेकपा (माओवादी) ले राज्य संयन्त्रद्वारा वैकल्पिक राजनीतिक अभ्यास, सामूहिक जीवनशैली र जनमुखी कार्यक्रमलाई दबाउन खोजिएको आरोप लगाएको छ।

पार्टीका नेताहरूले उक्त घटनाले सरकारको दमनकारी चरित्र उजागर भएको प्रतिक्रिया दिएका छन्। यसैबीच प्रहरीले भने छापाका क्रममा केही हतियार तथा विस्फोटक पदार्थ बरामद गरिएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार सूचनाको आधारमा गरिएको छापामा सुरक्षा चुनौती हुनसक्ने सामग्री फेला परेपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्