पौष २३, काठमाडौं ।।
नेकपा एमालेभित्र फेरि एकपटक नेतृत्व तहको शक्ति सन्तुलन र आन्तरिक राजनीति चर्चामा छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्वउपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी खोसिएसँगै यसले चर्चा पाएको हो।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पोखरेललाई उक्त जिम्मेवारीबाट हटाउँदै विष्णु रिमाललाई प्रतिष्ठानको नयाँ प्रमुख बनाउने निर्णय गरेको हो।
बैठकमा अध्यक्ष ओलीले पोखरेलको स्थानमा रिमाललाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव राख्दै, “विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो। उहाँलाई त्यसै राख्न मिल्दैन, जिम्मेवारी दिनुपर्छ।” ओलीको यही प्रस्तावलाई सचिवालय बैठकले पारित गरेसँगै पोखरेलले सम्हाल्दै आएको विभाग अब रिमालले सम्हाल्ने छन् ।
विष्णु रिमाल पार्टीको ११औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार थिए। तर उपमहासचिव परको कुरा उनी केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए ।
उनी पराजित भएसँगै औपचारिक जिम्मेवारीविहीन अवस्थामा थिए। तर ओलीले रिमाललाई पार्टी संरचनाभित्र सक्रिय बनाउने उद्देश्यले प्रतिष्ठानको नेतृत्व सुम्पिएको स्रोतले बताएको छ।
ओलीको यो निर्णयले पोखरेललाई प्रत्यक्ष रूपमा किनारामा धकेलिएको सन्देश दिएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको छ।










