प्रधानमन्त्री कार्कीको मार्गप्रशस्त आग्रहपछि तीन मन्त्रालय सम्हालेका घिसिङले दिए राजीनामा
  • प्रमुख खबर

Oplus_131072

पौष २३, काठमाडौं ।।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका छन्।

बुधबार(आज) राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका घिसिङले प्रत्यक्ष भेटेरै राजीनामा पत्र हस्तान्तरण गरेका हुन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ३० गते ऊर्जा मन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात तथा सहरी विकास मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी दिइएको थियो।

छोटो कार्यकालमै तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङको राजीनामालाई अहिलेको राजनीतिक परिदृश्यसँग जोडेर हेरिएको छ।

प्रधानमन्त्री कार्कीले घिसिङ सक्रिय राजनीतिमा लाग्ने संकेत देखिएपछि पहिल्यै मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन्।

उनीसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेललाई मार्गप्रशस्त गर्न प्रधानमन्त्री कार्कीले आग्रह गरेकी थिइन्।

विषेशगरी सरकारलाई निर्दलीय र तटस्थ राख्नुपर्ने आवश्यकतालाई औँल्याउँदै उनीहरूलाई राजनीतिक गतिविधिमा लाग्ने चाहना भए राजीनामा गरेर मात्र चुनावमा केन्द्रित हुन भनेकी थिइन्।

घिसिङको राजीनामापछाडि दलगत राजनीतिमा देखिएको नयाँ समीकरण झनै रोचक बनेको छ। गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको थियो।

उक्त सहमति अनुसार उनीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमासँगै अघि बढ्ने निर्णयमा पुगेका थिए।

सहमतिकै आधारमा घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापतिको भूमिकामा रहने तय भएको बताइन्छ।

यसले उनको राजीनामालाई केवल प्रशासनिक निर्णय मात्र नभई आगामी निर्वाचन केन्द्रित रणनीतिक कदमका रूपमा पनि चित्रण गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्