राष्ट्रियसभा चुनावः १८ सिटमा ४४ उम्मेदवार, आज दाबी–विरोधमा उजुरी दिन सकिने
  • प्रमुख खबर

Oplus_131072

पौष २४, काठमाडौं ।।
आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बिहीबार(आज) उम्मेदवारविरुद्ध दाबी–विरोधमा उजुरी दिन सकिने छ।

निर्वाचन आयोगले उम्मेदवारहरूको दाबीविरुद्ध उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेको छ।

यसअघि हिजो सातै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भएको थियो।

आगामी निर्वाचनका लागि १८ पदमा ४४ जनाले उम्मेदवारी दिएका छन्। यसैबीच साथ प्रदेशमध्ये कोशी प्रदेशमा भने नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे मनोनयन प्रक्रियामा अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्। यद्यपि, यसको औपचारिक घोषणा भने निर्वाचन आयोगले गर्न बाँकी छ।

राजनीतिक समीकरणतर्फ हेर्दा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन बनेको छ।

गठबन्धनतर्फ नेपाली कांग्रेसले ९ सिट, नेकपा (एमाले) ले ८ सिट, लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन्। तर भागबण्डामा सहमति नजुटेपछि नेकपाले गठबन्धनबाट बाहिरिँदै छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

निर्वाचन प्रणाली अनुसार प्रदेश सांसदको मतभार ५३ र स्थानीय तह प्रतिनिधिको मतभार १९ कायम गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्