पाैष २६, काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र परिवारवाद, नातावाद र अवसरवाद हावी भएको आरोप लगाउँदै पार्टीको केन्द्रीय कार्यालयभित्रै आमरण अनसनमा बसेका महिला नेतृहरूलाई बाहिरबाट ताला लगाएर थुनिएको घटनाले गम्भीर राजनीतिक तरंग सिर्जना गरेको छ।
पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति कडा आपत्ति जनाउँदै केन्द्रीय कार्यालयमै आमरण अनसन सुरु गरेका थिए।
तर शान्तिपूर्ण रूपमा भइरहेको उक्त विरोध कार्यक्रमलाई दबाउन पार्टी नेतृत्व पक्षबाट कार्यालयको ढोका बाहिरबाट चाबी लगाएर अनसनरत नेतृहरूलाई भित्रै थुनिएको उनीहरूको दाबी छ।
अनसनरत महिला नेतृहरूले समानुपातिक सूची समावेशी, न्यायोचित र योगदान–संघर्षको आधारमा बन्नुपर्नेमा पहुँच र पारिवारिक सम्बन्धका आधारमा तयार पारिएको आरोप लगाएका छन्।
विशेषतगरि समानुपातिक सूचीमा खुशबु ओली तथा पार्टीका एक उपाध्यक्षकी श्रीमतीलाई समावेश गरिएको विषयप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।
उनीहरुले पार्टीभित्र महिला अधिकार, समान सहभागिता र आन्तरिक लोकतन्त्रको खुलेआम हत्या गरिएको भन्दै आक्राेस समेत पाेखेका छन् ।
अनसनरत नेतृहरूलेभनेका छन्, “शान्तिपूर्ण आन्दोलनमाथि ताला लगाएर दमन गर्नु अमानवीय, गैरलोकतान्त्रिक र निन्दनीय कार्य हो।”
उनीहरुले पार्टी नेतृत्वसँग तत्काल समानुपातिक सूची सच्याउनुपर्ने, परिवारवाद र अवसरवाद अन्त्य गर्न साथै पार्टीभित्र महिलाको सम्मानजनक, समान र न्यायोचित सहभागिता सुनिश्चित गर्न स्पष्ट माग राखेका छन्।
उनीहरूले माग पूरा नभएसम्म आमरण अनसन नतोड्ने चेतावनीसमेत दिएका छन्।










