जसपा–लोसपा एकता घोषणा, १२ बुँदे सहमतिसँगै मधेशी शक्ति एक ठाउँमा
  • प्रमुख खबर

Oplus_131072

पौष २७, काठमाडौं ।।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता भएको छ । आइतबार(आज) यी दुई पार्टीबीच १२ बुँदे सहमतिसँगै एकता भएको हो ।

लामो समयदेखि विभाजित मधेश केन्द्रित शक्तिहरू पुनः एक ठाउँमा आउने प्रक्रियालाई औपचारिकता दिँदै दुवै दलले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेका छन् ।

सम्झौता अनुसार समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् ।

समितिले पार्टीको दैनिक राजनीतिक तथा सांगठनिक गतिविधि सञ्चालन गर्ने र छिट्टै ११ सदस्यीय सचिवालय गठन गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ नै रहने निर्णय गरिएको छ ।

पार्टी एकीकरणको बाँकी प्रक्रिया भने प्रचलित कानुनअनुसार अगाडि बढाइने र एकता पूर्ण नहुँदासम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमति भएको छ ।

सम्झौतामा दुवै दलका भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालको संरचनाभित्र रहने र केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख गरिएको छ ।

पार्टी एकता तथा समायोजन सम्पन्न नहुन्जेलसम्म दुवै दलका संगठनहरू आ–आफ्नो जिम्मेवारीअनुसार समन्वय समितिको निर्देशनमा क्रियाशील रहनेछन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार चयन गर्दा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर अनिवार्य रहने सहमति पनि भएको छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले यसअघि दिएको उम्मेदवारी फिर्ता लिने विषयमा समेत सहमति जुटेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्