भृकुटीमण्डपमा कांग्रेसको बन्द सत्र, आज तय हुँदै पार्टीको भावी दिशा
  • प्रमुख खबर

Oplus_131072

पौष २८, काठमाडौं ।।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले सोमबार(आज) निर्णायक मोड लिँदैछ। हिजोदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन अन्तर्गत अहिले बिहान १० बजेदेखि बन्द सत्र सुरु भएको छ । यस बन्द सत्रले कांग्रेसको भावी दिशा तय हुने बताइएको छ।

त्यस्तै महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया आज बिहान ११ बजेसम्म खुला रहनेछ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उनीहरूलाई समयमै सहभागिता सुनिश्चित गर्न दर्ताको समय थप गरिएको हो।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार बन्द सत्रको सुरुवात विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि निर्माणबाट हुनेछ। त्यसपछि प्रतिनिधिहरूलाई नौ वटा समूहमा विभाजन गरी चार प्रमुख एजेन्डामा नीतिका विषयमा मन्थन गरिने बताइएको छ।

ती एजेन्डामा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक राजनीतिक विषयहरू समेटिएका छन्।

नीति मन्थनपछि सबैको चासोको विषय बनेको नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा समेत बृहत् छलफल हुने स्रोतले जनाएको छ।

यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरेर प्रक्रिया अघि बढाइने पोखरेलले जानकारी दिए।

यद्यपि नयाँ कार्यसमिति सर्वसम्मत (निर्विरोध) रूपमा चयन हुने सम्भावना रहेको भन्दै मतदान नहुन सक्ने उनको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्