भृकुटीमण्डपमा चर्कियो राजनीतिक सरगर्मी, उम्मेदवारी दर्तादेखि मतदानसम्म आजै हुने
  • प्रमुख खबर

Oplus_131072

पौष २९, काठमाडौं ।।
नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा प्रवेश गरेको छ। बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरू भएसँगै पार्टीभित्रको राजनीतिक सरगर्मी चरम बिन्दुमा पुगेको छ।

भृकुटीमण्डप परिसरमा मंगलबार(आज) नेतृत्वको प्रतिस्पर्धा, शक्ति सन्तुलन र भावी दिशाका बारेमा भइरहेको छलफलले त्यहाँको माहोल तातिएको छ।

केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै सार्वजनिक गरेपछि महाधिवेशन प्रतिनिधिहरूको ध्यान अब स्पष्ट रूपमा निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ।

कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका सम्पूर्ण प्रक्रिया आजै सुरू भएका छन् । जसले नेतृत्व चयनलाई तीव्र गतिमा अघि बढाएको छ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको समय अहिले दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको छ।

सीमित समयभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सम्भावित उम्मेदवारहरू आ–आफ्ना समूह र समर्थकसँग अन्तिम परामर्शमा जुटिरहेका छन्।

मनोनयन दर्तापछि आवश्यक छानबिन र प्रक्रियापछि उम्मेदवारको अन्तिम नामावली आजै राति पौने ९ बजे प्रकाशन गरिने कार्यतालिका रहेको छ। यससँगै मैदानमा को–को उत्रिने भन्ने विषय स्पष्ट हुनेछ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदान गरिनेछ। दिनभरको राजनीतिक बहसपछि राति हुने मतदानले महाधिवेशनलाई अझै रोचक बनाउने अपेक्षा गरिएको छ।

यता पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्म अन्तिम घडीको समर्थन जुटाउने प्रयासमा सक्रिय देखिएका छन्।

यस विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र भावी राजनीतिक यात्राको दिशानिर्देशकका रूपमा हेरिएको छ।

नेतृत्व चयनसँगै पार्टीको आगामी रणनीति, सरकार र विपक्षसँगको भूमिकाबारे समेत सन्देश जाने भएकाले यस निर्वाचनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्