पौष २९, काठमाडौं ।।
नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।
उनीहरूले पार्टीका जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ ग्रहण गर्दै नेताद्वय प्रचण्ड र नेपालले पार्टीको मार्गदर्शक सिद्धान्त, नीति र कार्यक्रमलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन्।
शपथका क्रममा उनीहरूले सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक संघर्ष गर्ने प्रण समेत गरेका छन्।
यस्तै जनताको अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रका पक्षमा निरन्तर उभिने प्रतिवद्धतासँगै उनीहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने संकल्प समेत दोहोर्याए।
कार्तिक १९ गते काठमाडौंमा तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न कम्युनिस्ट घटकहरू एकताबद्ध भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो ।
लामो समयदेखि विभाजीत, वैचारिक मतभेद र संगठनात्मक असमझदारीको चक्रमा फसेको कम्युनिस्ट आन्दोलनले सोही दिन एकताको नयाँ अध्याय सुरु गरेको हो।










