पौष ३०, काठमाडौं ।।
नेपाली कांग्रेसको आन्तरिक राजनीति विवाद अहिले निर्णायक घडीमा प्रवेश गरेको छ। विशेष महाधिवेशनले नेतृत्व चयनको ढोका खोलेसँगै पार्टीभित्र लुकेर बसेका असन्तुष्टि, शक्ति–दाबी र रणनीतिहरू सतहमा आउन थालेका छन्।
कांग्रेसमा अहिले नेतृत्व चयनतर्फ अगाडि बढेसँगै पार्टीका शीर्ष नेताबीच संवाद र तनाव एकसाथ बढेको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशनले चुनावी प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएपछि सभापति शेरबहादुर देउवा स्वयं सक्रिय छलफलमा उत्रिएका छन्।
पार्टीभित्र देखिएको आन्तरिक विवादलाई साम्य पार्ने प्रयासस्वरूप सभापति देउवाले महामन्त्रीद्वयलाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएर प्रत्यक्ष संवाद थालेका हुन्।
देउवानिवासमा अहिले भइरहेको छलफलमा संस्थापन पक्षका प्रभावशाली नेता बालकृष्ण खाँण र रमेश लेखकको उपस्थिति पनि अर्थपूर्ण मानिएको छ। यसले कांग्रेसभित्र शक्ति सन्तुलन र सहमतिको खोजी तीव्र बनेको संकेत गरेको छ।
यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भने चुनावी प्रक्रिया अघि बढिसकेको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच गएराति अबेरसम्म चलेको छलफल निष्कर्षविहीन भएपछि बुधबार(आज) बिहानैदेखि शीर्ष नेताहरू फेरि संवादमा जुटेका छन्।










