माघ १, काठमाडौं ।।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नव निर्वाचित कार्यसमितिले वैधानिकताको कार्यलाई तीव्रता दिएको छ।
पार्टीका सभापति गगनकुमार थापाको नेतृत्वमा पदाधिकारी तथा कानूनविद्हरूको टोली बिहीबार(आज) निर्वाचन आयोग पुगेर पार्टीको विवरण अद्यावधिकका लागि औपचारिक निवेदन दर्ता गराएको हो।
आयोगमा कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै सभापति थापाले विधानअनुसार सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई शीघ्र अद्यावधिक गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
माघ ६ गते तोकिएको समयसीमालाई मध्यनजर गर्दै निर्णयमा ढिलाइ नगर्न थापाको जोड छ । सभापति थापाले विशेष महाधिवेशन प्रक्रियासँग सम्बन्धित सबै आवश्यक कागजात, हस्ताक्षरसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगसमक्ष पेश गरिएको जानकारी दिए ।
आयोगले निवेदन ग्रहण गरे पनि यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यसअघि आयोग जाने निर्णय सभापति थापाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गरेको थियो।
बैठकले पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्न सम्पूर्ण पदाधिकारीहरूको हस्ताक्षरसहित निवेदन दिने निर्णय गरेको हो।
गएराति सम्पन्न विशेष महाधिवेशनले सभापति थापाको नेतृत्वमा पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको थियो।
आयोगले विवरण अद्यावधिक गरेसँगै नयाँ कार्यसमिति नै वैधानिक रूपमा नेपाली कांग्रेसको आधिकारिक नेतृत्व बन्नेछ।
यता आज बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।
नवनियुक्त प्रवक्ता चालिसेका अनुसार बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै दुई महत्वपूर्ण समिति गठन गरेको छ।
सभापति थापाको संयोजकत्वमा चुनावी घोषणापत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरिएको हो।










