माघ ७, काठमाडौं ।।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल दिनानुदिन नजिकदै जाँदा मनोनयन दर्तासँगै चुनावी खेलको पहिलो चरणमै राजनीतिक वृत्तमा नयाँ तरंग देखिएको छ।
देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट दर्ता भएका ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जना उम्मेदवार उजुरीको घेरामा परेपछि चुनावी मैदान थप चासोको केन्द्र बनेको हो।
निर्वाचन आयोगका अनुसार उजुरी पर्ने उम्मेदवारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरी रहेका छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार(आज) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरिएको र प्राप्त उजुरीमाथि छानबिनको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
आयोगले भोलि बेलुका ५ बजेसम्म उजुरीमाथिको अन्तिम निर्णय सार्वजनिक गर्ने कार्यतालिका रहेको जनाएको छ। सोही दी बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
त्यस्तै माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ। सोही दिन दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारले आफ्नो चुनाव चिह्न प्राप्त गर्नेछन्।










