निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घन गरेका पाँच उम्मेदवारलाई सोधियो स्पष्टीकरण
  • प्रमुख खबर

Oplus_131072

माघ १३, काठमाडौं ।।
सामाजिक सञ्जालदेखि चुनावी प्रचारशैलीसम्मका गतिविधि विवादित बनेपछि आयोगले कडा निगरानी गरेको छ।

आयोगको निगरानीमा यतिबेला निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच जना उम्मेदवारलाई एकैसाथ स्पष्टीकरण सोधिएको छ ।

आयोगले झापा–५ का बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ, रुपन्देही–२ का निकोलस भुसाल र भक्तपुर–२ की जानुका पाठकलाई स्पष्टीकरण पत्र पठाइएको हो।

झापा–५ मा बालेनमाथि प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको आरोप लागेको छ।

चुनावी बहस ‘ट्रोल र कटाक्ष’तर्फ मोडिएको भन्दै आयोगले उनलाई स्पष्टिकरण दिन निर्देशन दिएको हो। भक्तपुर–२ मा महेश बस्नेतले बालेनलाई असभ्य शब्द प्रयोग गरेको विषयलाई आयोगले गम्भीर रूपमा लिएको छ।

उनले प्रयोग गरेको भाषाशैलीले चुनावी मर्यादा नाघेको भन्दै आयोगले आपत्ति जनाएको हो ।

त्यस्तै सुनसरी–१ का हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको तथा टिसर्ट लगाएर प्रचार गराएको आरोप लागेको छ। बालअधिकार र आचारसंहिताविपरीत गतिविधि भन्दै आयोगले यसबारे जवाफ मागेको हो।

यस्तै रुपन्देही–२ का निकोलस भुसालले ‘नवयुवा आन्दोलन’को जुत्तालाई आफ्नो चुनाव चिह्नजस्तै देखाएर प्रचार गरेको आरोप छ। आयोगले यसलाई मतदातामा भ्रम फैलाउने प्रयासका रूपमा हेरेको छ।

यता भक्तपुर–२ की जानुका पाठकलाई भने प्रतिस्पर्धी उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको छ।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारका अभिव्यक्ति र गतिविधिमाथि आयोगले कडा निगरानी बढाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्