माघ १३, पोखरा ।।
पोखरा इन्जिनियरिङ कलेजले पेक इन्जिनियरिङ्ग प्रदर्शनी -२०८२ आयोजना गर्ने भएको छ। कलेज परिसरमै हुने नवौँ संस्करणको प्राविधिक प्रदर्शनी यही माघ १४ र १५ गते हुन लागेको हो।
इन्जिनियरिङ विषयमा प्रि–डिप्लोमा, डिप्लोमा, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्ट वर्क तथा प्रविधिहरूको प्रदर्शनी एक्स्पोमा गरिने आयोजकले जनाएको छ।
विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्ने, विद्यार्थीको प्राविधिक ज्ञानलाई सबै सामु प्रस्तुत गर्न र विकास भएका प्रविधिको व्यावहारिक उपयोग विस्तार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।
गुरुङले भने,”प्राविधिक ज्ञान लिईसकेपछि इनोभेटिभ गर्न सक्ने हुनुपर्छ भनेर एक्स्पो आयोजना गर्ने गरेका छौँ।”
यस वर्षको प्रदर्शनीमा प्राविधिक प्रदर्शनी, अन्तर–कलेज ह्याकाथन प्रतियोगिता, कम्प्युटर तथा सूचना प्रविधि (IT) परियोजना प्रदर्शन, वास्तुकला डिजाइन ह्याकाथन, वास्तुकला परियोजना प्रदर्शन, भित्ते कला (Wall Art) प्रतियोगिता, पप्सिकल स्टिक पुल डिजाइन प्रतियोगिता, अन्तर–विद्यालय डिजाइन प्रतियोगिता गरी आठ प्रकारका विशेष कार्यक्रम अन्तर्गत ६० भन्दा बढी सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरिने कलेजले जानकारी दिएको छ ।
एक्स्पोमा कम्प्युटर तथा सूचना प्रविधि (IT) विद्यार्थीहरूका लागि ह्याकाथन प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी वास्तुकला (Architecture) विद्यार्थीहरूका लागि आर्किटेक्चर डिजाइन हाकाथन प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, सिर्जनात्मक डिजाइनतर्फ द्वितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ तोकिएको छ।
यस्तै सिभिल इन्जिनियरिङ विद्यार्थीहरूका लागि पोप्सिकल ब्रिज डिजाइन कम्पिटिसनमा प्रथम ५ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
एक्स्पोमा विभागीय परियोजना प्रतियोगिताहरू पनि समावेश छन्। वास्तुकला विभागको परियोजना प्रतियोगितामा उत्कृष्ट सिर्जनात्मक डिजाइन, वेस्ट थिम एड्रेसेस र उत्कृष्ट सहभागिताका लागि १०–१० हजार रुपैयाँ पुरस्कार राखिएको छ।
सिभिल इन्जिनियरिङ विभागको परियोजना प्रतियोगितामा प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
कम्प्युटर तथा आईटी विभागको परियोजना प्रतियोगितामा पनि सोही अनुसार पुरस्कार व्यवस्था गरिएको छ।
त्यसैगरी डिप्लोमा तहको परियोजना प्रतियोगितामा उत्कृष्ट सिभिल परियोजना र उत्कृष्ट कम्प्युटर परियोजनालाई ५–५ हजार रुपैयाँ नगद पुरस्कार सहित एक्स्पोमा सहभागी हुने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिने कलेजका प्रिन्सिपल ई.सोम गुरुङले जानकारी दिनुभयो।
प्राविधिक नवप्रवर्तनलाई आम जनसमुदायसम्म पुर्याउन प्रदर्शनीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत प्राविधिक, उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका व्यक्तित्व, विद्यार्थी तथा सर्वसाधारणलाई अवलोकनका लागि आमन्त्रण गरिएको कलेज प्रशासनले जनाएको छ।
इन्जिनियरिङ विषयमा प्रिडिप्लोमा, डिप्लोमा, स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराइने गण्डकी क्षेत्रकै पहिलो निजी इन्जिनियरिङ कलेजका रूपमा परिचित पोखरा इन्जिनियरिङ कलेजले हरेक दुई वर्षमा यस प्रकारको प्राविधिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।












