माघ २०, चितवन ।।
नेपालमै पहिलोपटक सालक संरक्षणलाई केन्द्रमा राखेर चितवनको माडीमा विशेष सम्मेलन आयोजना हुने भएको छ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा आगामी माघ २६ गते माडी नगरपालिका–६ मा कार्यक्रम तय गरिएको हो।
सम्मेलनमा बागमती प्रदेशअन्तर्गत रहेका १३ वटा डिभिजन वन कार्यालयका प्रमुखहरू सहभागी हुनेछन्।
यसका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न जिल्लाका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, संरक्षण विज्ञ तथा अभियन्ताहरूको उपस्थिति रहने डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।
जमिनमुनि बसोबास गर्ने सालक हाल लोपोन्मुख अवस्थामा पुगेको छ। किसानमैत्री जनावरका रूपमा चिनिने सालकले धमिरा र कमिला मात्र खाने भएकाले बालीलाई क्षति पुर्याउँदैन।
उल्टै माटोलाई खनजोत गरेर नरम बनाउने भएकाले कृषिका लागि समेत लाभदायक मानिन्छ। यही महत्वबारे जनचेतना फैलाउन र संरक्षण प्रयासलाई सशक्त बनाउन सम्मेलन गर्न लागिएको आचार्यले बताए ।
कार्यक्रममा सालकको वर्तमान अवस्था, संरक्षणका आवश्यकता, विद्यमान चुनौती र भावी रणनीतिबारे विस्तृत छलफल गरिनेछ।
सम्मेलनको निष्कर्षस्वरूप ‘माडी घोषणा पत्र’ जारी गर्दै सालक संरक्षणका लागि ठोस प्रतिबद्धता व्यक्त गरिने आयोजकले जनाएको छ।












