माघ २०, काठमाडौं ।।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्रको चुनावी गतिविधि मात्रै नभई आन्तरिक शक्ति सन्तुलन पनि रोचक बन्दै गएको छ।
निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सम्हालेका उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई जिल्ला–जिल्ला तोक्दै जिम्मेवारी दिएका छन्।
सबैभन्दा रोचक पक्ष उपसभापति शर्माले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत जिम्मेवारीमा समेटेका छन्।
पार्टीको पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनलाई देउवा र डा. शेखर कोइराला समूहले अस्वीकार गर्दै सर्वोच्च अदालतसम्म मुद्दा पुर्याएका बेला शर्माले ती समूहका नेताहरूलाई पनि निर्वाचन परिचालनमा सक्रिय बनाउने रणनीति अपनाएका हुन्।
देउवा नेतृत्वको कार्यसमितिका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, उमेशजंग रायमाझी, जीपछिरिङ लामा, उर्मिला थपलिया, दिलमान पाख्रिन, धना खतिवडा, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर केसी, रुपा बिक, रंगमती शाही, मानबहादुर नेपाली, कान्तिक सेजुवाल, विद्यादेवी तिमिल्सिना, डा. रणबहादुर रावल र नृप वडलगायत नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ।
यस्तै प्रदेशअनुसार जिम्मेवारी पनि मिलाइएको छ । जसअन्तर्गत कोशीमा आङ्देम्बे, विश्वकर्मा र रायमाझी,
बागमतीमा थपलिया, लामा, नेपाली, पाख्रिन र खतिवडालाई दिइएको छ।
लुम्बिनीमा गिरी, घिमिरे, केसी र बिक, कर्णालीमा शाही, नेपाली र सेजुवाल, सुदूरपश्चिममा तिमिल्सिना, रावल र वडलाई जिम्मेवारी दिइएको छ।










