अर्थको स्वीकृतिबिना शहरी मन्त्रालयले गर्यो ठूलो परिणाममा रकम निकासा, ४२ सहिद परिवारलाई पेन्सन
  • प्रमुख खबर

Oplus_131072

माघ २१, काठमाडौं ।।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ जना सहिदका परिवारलाई शहरी विकास मन्त्रालयले मासिक पेन्सन उपलब्ध गराउने भएको छ।

प्रत्येक परिवारलाई मासिक २१ हजार ८ सय रुपैयाँका दरले पेन्सन निकासा गरिएको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये जेलबाट भागेका बाहेकका व्यक्तिलाई सरकारले सहिद घोषणा गरेको थियो। सहिदमध्ये तीन जना प्रहरीसमेत रहेका छन्।

सरकारले हाल भने प्रहरी बाहेक ४२ जनाका परिवारलाई पेन्सन दिन थालिएको हो। मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट व्यवस्था गरिएको छ।

वर्षमा १३ महिनाको दरले हिसाब गर्दा १० वर्षमा कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुने अनुमान छ। यस विषयमा अर्थ मन्त्रालयसँग छलफल भए पनि औपचारिक स्वीकृति भने नलिएको बताइएको छ।

यता अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले पनि राहत रकमका लागि आफ्नो मन्त्रालयले कुनै फाइल स्वीकृत नगरेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्