पोखराका विभिन्न वडामा एमालेको सम्पर्क कार्यालय स्थापना, राष्ट्र र संविधान जोगाउने पार्टी नै एमाले : रश्मि आचार्य
  • प्रमुख खबर

माघ २२, पोखरा ।।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ कास्कीले चुनावी प्रचार अभियान अन्तर्गत पोखराका विभिन्न वडामा चुनाव केन्द्रीत सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बुधबार एमालेले पोखराका वडा नं. ८, ९ र १६ मा आसन्न प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरेको हो । पोखरा १६ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टी आई पर्ने हरेक किसिमका चुनौतीहरु सामना गर्न तयार रहेको बताएका छन् । उनले एमाले अराजक गतिविधी र षडयन्त्रलाई प्रतिवाद गर्दै स्वच्छ प्रतिष्पर्धालाई स्वीकार गर्ने पार्टी रहेको बताए ।

उमेद्वार रश्मि आचार्यले भिड तन्त्रले देशलाई अधोगतीमा लैजाने दावी गर्दै, राष्ट्र र संविधान जोगाउने पार्टी नै एमाले भएको बताए । पर्यटन विकास मार्फत नै यस क्षेत्रले फड्को मार्न सक्ने बताउँदै,उनले पोखरा वरपरका क्षेत्रमा पर्यटन विकासका लागि आफुले मुख्य भुमिका खेल्ने स्पष्ट पारे ।

आफु निर्वाचित भएपछि प्रत्येक वडामा पुगेर जनतासँग छलफल गरी प्राप्त सुझाव र समस्यालाई सदन मार्फत सरकारको ध्यानाकर्षण गराउने उनको प्रतिबद्धता थियो । कार्यक्रममा एमाले नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य प्रभा कोईराला, नेता मीना गुरुङ, दानबहादुर बानियाँ, चित्र थापा, बलराम आचार्य लगायतले समृद्ध र सुखी नेपालीको लक्ष्य एमाले नेतृत्वले मात्र पुरा गर्न सक्ने बताए ।

वडा कमिटीका अध्यक्ष यमनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीपक आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्