माघ २२, पोखरा ।।
प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा आयोजक प्रतिभा मावि प्रवेश गरेको छ । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । यसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाले तय गर्नेछ।
दुवै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।
यस प्रतियोगिता अन्तर्गत विहीबार(आज) भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित गरेको हो ।
पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतीमा १ सय ४० रनको योगफल तयार गर्यो ।
चुनौतिपूर्ण लक्ष्य बनाउने क्रममा प्रतिभाका सहबुदिन अन्सारीले ४८ बलमा अर्ध सतकसहित ६१ रन, मिसन विकले २४ बलमा २१ रन र सफल थापाले २६ बलमा २० रनको योगदान दिए ।
आयोजक टीमलाई विशाल स्कोर हुनबाट रोक्न नेपाल भारत मैत्री विद्यालयका समी उल्लाह आलमले ४ ओभरमा २० रन खर्चेर २ विकेट, विवेक कुमारले ४ ओभरमै १६ रन खर्चेर २ विकेट तथा सत्यानन्द उपाध्यायले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।
१ सय ४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित रह्यो ।
आयोजक टिमका बलरहरुसामु नेपाल भारत मैत्री विद्यालयका प्रायः सबै व्याटर निरीह देखिए ।
नेपाल भारत मैत्री विद्यालयलाई सस्तैमा समेट्न प्रतिभाका निश्चल दाहालले २ ओभर बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट हत्याए भने सफल थापाले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट तथा सफल श्रेष्ठले २ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए । सो खेलमा बिजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।
त्यस्तै आजै भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जिवितै राखेको छ ।
टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षेतीमा १ सय ४४ रन बनायो ।
गुरुकुलका लागि विवेक अधिकारीले ३७ बलमा ४१ रन, सुदीप सुनारले १५ बलमा २६ रन र एलोन भट्टले २८ बल सामना गर्दै २४ रनको योगदान दिए ।
गुरुकुललाई विशाल योगफल बनाउनबाट रोक्ने क्रममा जनप्रियका हेमराज प्रसाद उपाध्यायले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट, मौषम भट्टराईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट तथा सम्राट क्षेत्रीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए ।
१ सय ४५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । जनप्रियको ईनिङमा सन्देश स्याङ्तानले १४ बलमा १० रन बनाउनुबाहेक अन्यको ब्याट चलेन ।
जनप्रियलाई सस्तैमा समेट्न गुरुकुलका सुदीप सुनारले २.३ ओभरमा २ रन खर्चेर ३ विकेट, हेमन्त नेपालीले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा प्रमिस गैह्रेले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए ।
सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । यो खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ ।













