माघ २६, काठमाडौं ।।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसको तयारीलाई तीव्रता दिएको छ।
यसै अन्तर्गत हालसम्म देशका ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म कुल १ करोड २२ लाख ५६ हजार मतपत्र छापिसकिएको छ।
छपाईसँगै ती मतपत्रहरूको प्याकिङसमेत सम्पन्न भइसकेको छ भने १० हजार ७ सय ५९ बाकस मतपत्र सुरक्षित रूपमा तयारी अवस्थामा राखिएको जानकारी उनले दिएका छन्।
छपाई सम्पन्न भएका जिल्लामा हिमालीदेखि तराईसम्मका डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, झापा, सुनसरी, मोरङ, गोरखा, तनहुँ, स्याङ्जा, बर्दिया लगायत ४४ जिल्ला समेटिएका छन्।
आयोगले ती जिल्लामा मतपत्र ढुवानीको तयारीसमेत थालेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी मा गत पुस २२ गतेदेखि मतपत्र छपाई सुरु गरिएको हो।
पहिलो चरणमै १० लाख ९८ हजार २ सय नमूना मतपत्र तयार गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ तथा रुजु सम्पन्न गरिएको छ।
प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फ आवश्यक २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य राखिएको छ । यसको हाल छपाईको काम भइरहेको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा आयोगले मतपत्र छपाई, प्याकिङ र ढुवानीलाई समयमै सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाएको जनाएको छ।












