माघ २७, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पूर्ण रूपमा सुरक्षित, शान्तिपूर्ण र त्रुटिरहित बनाउन सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन कडा निर्देशन दिएकी छन्।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार(आज)देखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा देखिएका समन्वय कमजोरी र सुरक्षागत त्रुटिहरू दोहोरिन नदिन स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न जोड दिएकी हुन्।
उनले भनिन्,“यस चुनावलाई सुरक्षित रूपमा सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव र आगामी चुनौतीहरूको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ। त्रुटिरहित ढङ्गले काम गर्नुहोस्।”
उनले नेपाल सरकारद्वारा स्वीकृत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ अनुसार नेपाली सेनालाई दिइएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउँदै नागरिकमा सुरक्षाको भरोसा दिलाउन आग्रह गरिन्।
यससँगै सबै राजनीतिक दललाई निर्बाध रूपमा आफ्नो गतिविधि सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्न निर्देशन समेत दिइन् ।
उनले सुरक्षा निकायहरूबीच स्पष्ट जिम्मेवारी बाँडफाँट, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै सम्भावित जोखिमहरूको समयमै पहिचान र व्यवस्थापन गर्न सचेत रहन आग्रह पनि गरेकी छन्।












