सरकारको प्रतिबद्धता कमजोर भएको कारण भ्रष्टाचार स्थिर, सीपीआईमा फेरि ३४ अंक
  • प्रमुख खबर

Oplus_131072

माघ २७, काठमाडौं ।।
नेपालमा भ्रष्टाचार नियन्त्रणको बहस वर्षेनि चर्किन्छ तर तथ्याङ्क भने उही ठाउँमा अड्किएको देखिन्छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ ले फेरि एकपटक नेपाललाई ३४ अंकमै सीमित गरिदिएको छ ।

यो अंकले के देखाएको छ भने नेपालमा भ्रष्टाचार न घटेको छ न त बढेको छ । यही स्थिरता नै सबैभन्दा चिन्ताको विषय बनेको छ।

लामो समयदेखि ३५ भन्दा तल झरेरै घुमिरहँदा नेपाल ‘जोखिमको घेराभित्र’ नै रहेको टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माको टिप्पणी छ।

उनका अनुसार ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सुशासनसम्बन्धी तथ्याङ्क विश्लेषण गरेर दिएको यो अंकले सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता व्यवहारमा कमजोर देखिएको संकेत गरेको छ।

विषेशगरी भदौ २३ र २४ गतेको नवयुवा आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिले देशमा बढ्दो असन्तोषको चित्र देखाएको थियो।

टीआईको निष्कर्षले त्यही आक्रोशको जडमा भ्रष्टाचार नै प्रमुख कारण भएको संकेत गरेको छ। टीआईका अनुसार विश्वको औसत अंक ४२ मात्रै छ। जसले विश्वसमेत अपेक्षाकृत कमजोर स्थितिमा रहेको देखाएको छ।

तर दक्षिण एशियामा भूटानले ७१ अंक ल्याएर उदाहरण प्रस्तुत गरेको छ। यसले के देखाउँछ भने सुधार असम्भव छैन तर इच्छाशक्ति चाहिन्छ भने स्पष्ट परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्