फागुन २१ नजिकिँदै: १ सय १७ निर्वाचन क्षेत्रका मतपत्र तयार
  • प्रमुख खबर

माघ २९, काठमाडौं ।।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा मतपत्र छपाइ कार्य अघि बढाउँदै ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रका मतपत्र तयार गरिसकेको छ।

आयोगका अनुसार हालसम्म १ करोड ५३ लाखभन्दा बढी मतपत्र छापिइसकेको छ, जसले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको बताए । प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्नेछ।

हाल दैनिक करिब १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । आयोगले बिहीबार(आज)सम्म सबै मतपत्र छपाइ सम्पन्न गरी सम्बन्धित जिल्लामा पठाउने तयारी गरेको छ।

दुर्गम हिमाली जिल्लादेखि तराईका जिल्लासम्मका मतपत्र तयार भइसकेका छन्। डोल्पा, मुगु, जुम्ला, हुम्ला, दार्चुलाजस्ता विकट हिमाली जिल्लादेखि झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरजस्ता घना जनसंख्या भएका जिल्लासम्मको छपाइ सकिएको आयोगले जनाएको छ।

यस्तै गोरखा, तनहुँ, स्याङ्जा, रुपन्देही, दाङ, बाँके, रोल्पा, बर्दिया लगायतका पहाडी तथा तराईका विभिन्न जिल्लाको मतपत्र पनि तयार भइसकेको छ। अब आयोगको ध्यान मतपत्र सुरक्षित ढुवानी र वितरणमा केन्द्रित हुनेछ।

विशेषगरी दुर्गम तथा हिमाली जिल्लामा समयमै मतपत्र पुर्‍याउन हवाई तथा स्थलमार्गको संयोजन गरिने जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले तयारी तीव्र बनाएको छ भने मतपत्र छपाइको काम लगभग अन्तिम चरणमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्