माघ २९, काठमाडौं ।।
आईसीसी टी–२० विश्वकपमा नेपालले अहिलेसम्मकै ठूलो हार बेहोरेको छ। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इटालीसँग बिहीबार(आज) भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२ ओभर ४ बलमै पूरा गरेको थियो । इटालीका दाजुभाइ एन्थोनी मोस्का र जस्टिन मोस्काले शुरूदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाली बलिङ आक्रमणलाई पूर्णतः निष्प्रभावी बनाए।
यस खेलमा दुवै दाजुभाइ अविजित रहे र इटालीले टी–२० विश्वकपमा आफ्नो ऐतिहासिक जीत दर्ता गर्न सफल भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर ३ बलमै १२३ रनमा समेटियो। आरिफ शेख २७, कप्तान रोहित पौडेल २३, आसिफ शेख २० र करण केसी १८ नटआउटले केही हदसम्म सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी नजुर्दा चुनौतीपूर्ण स्कोर बनाउन सकेन। इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए।
आजकै खेलबाट ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन्। शेर मल्लको स्थानमा राजवंशीलाई समावेश गरितापनि उनको लागि यो डेब्यु स्मरणीय बन्न सकेन।
नेपालका लागि यो प्रतियोगितामा लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दुई खेलबाट शून्य अंकमा रहेको नेपाल अब समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।
यता पहिलो पटक विश्वकप खेलेको इटालीले पहिलो जीत हात पार्दै समूह ‘सी’ मा तेस्रो स्थानमा उक्लिएको छ। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।
अब नेपालले तेस्रो खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालमाथि सुपर–एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
प्रतियोगिताको समीकरण
२० टोली सहभागी १०औँ संस्करणको टी–२० विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन्। त्यसपछि चार–चार टोलीका दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ।
फाइनल खेल मार्च ८ मा हुनेछ। आजै भएको पहिलो खेलमा श्रीलङ्काले ओमानलाई १ सय ५ रनले हराउँदै लगातार दोस्रो जीत निकालेको छ भने बेलुकी सवा ७ बजे भारत र नामिबिया आमनेसामने हुँदैछन्।













