नेपाली सहमति बिना अमेरिकी सेनाको सहभागिता राष्ट्रिय स्वाभिमानको उल्लंघन:विप्लव
  • प्रमुख खबर

फागुन ४, काठमाडौं ।।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आइतबार सेना दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको घटनाको तीव्र विरोध गरेको छ।

पार्टीका महासचिव विप्लवले उक्त घटनालाई “राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर खेलबाड”को रुपमा वर्णन गरेका छन्।

यसै घटनालाई लिएर सोमबार(आज) विज्ञप्ति जारी गर्दै, विप्लवले भनेका छन्, “नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा समावेश गर्नु राष्ट्रिय स्वाभिमानको उल्लंघन हो।

यसबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक हुनु आवश्यक छ।” उनले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य रहेकोमा जोड पनि दिएका छन्।

यसैबीच पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पनि हिजो टुँडिखेलमा भएको दृश्यलाई ‘विदेशी सेनाको नांगो नाच’ भन्दै आलोचना गरेका छन्।

उनका अनुसार, यस्तो प्रस्तुति नेपालको राष्ट्रिय गुनासो र भावनासँग मेल खाँदैन। तर नेपाली सेनाले भने विदेशी सेनाको सहभागीता परम्परागत सैनिक कूटनीति र सम्बन्ध विस्तारको अभ्यास भएको उल्लेख गर्दै विवादलाई शान्त पार्ने प्रयास गरेको छ।

सेनाको तर्क अनुसार, यस प्रकारको अन्तर्राष्ट्रिय सहभागिता नेपाल र अन्य देशबीचको मित्रता र सहयोग सुदृढ पार्ने उद्देश्यले गरिन्छ।

तर हिजोको यस घटनाले राष्ट्रभक्ति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबीचको संवेदनशील सन्तुलनलाई पुनः प्रकाशमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्