रास्वपा त्याग्दै खेम कुमारी भुर्तेल : पार्टी ‘चाप्लुसीवाद र आर्थिक प्रभाव’ मा फसेको आरोप
  • प्रमुख खबर

Oplus_131072

फागुन ५, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आउन थालेको छ। पार्टीकी संस्थापक सदस्य तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी खेम कुमारी भुर्तेल (उर्मिला)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्।

भुर्तेलले पार्टीको कार्यशैली, निर्णय प्रक्रिया र आन्तरिक संस्कृतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै आफ्नो राजनीतिक यात्रामा महत्वपूर्ण मोड लिएकी बताएकी छन्।

राजीनामा पत्रमार्फत उनले भनेकी छन्,“म रास्वपाको संस्थापक सदस्य, २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार हुँ।

आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याएँ।” तर उनले पछिल्लो समय पार्टी आफ्नो मूल आदर्शबाट विचलित भएको गम्भीर आरोप लगाएकी छन्।

उनले भनिन्,“पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त हुँदै गएको छ। सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखिएको छ भने जिम्मेवारी दिने ठाउँमा बेवास्ता गरिएको छ।”

भुर्तेलले पार्टीभित्र भ्रष्टाचार बढेको र निर्णय प्रक्रिया पारदर्शी नभएको दाबी गरेकी छन्। उनका अनुसार, “पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन भएका छैनन्। मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको अनुभूति भएको छ, जसले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच पुर्‍याएको छ।”

उनले पार्टी संकटमा पर्दा आफूले गरेको योगदान पार्टी पंक्ति र नागरिकहरूलाई थाहा भएको उल्लेख गर्दै अब मौन बसेर यी गतिविधिको साक्षी बन्न नसक्ने स्पष्ट पारेकी छन्।

विशेषगरी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उनको निष्कर्ष छ।

“रास्वपामा रहेर म नागरिकहरूसँग जवाफदेही हुन नसक्ने अवस्था बनेको छ। त्यसैले अब मौन रहन असमर्थ भएर राजीनामा दिने निर्णय गरेकी हुँ,” उनले राजीनामामा लेखेकी छन्। तर रास्वपा पार्टीले हालसम्म भुर्तेलको राजीनामाबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्